तीनवर्षदेखि व्यापार मेला भएन

पाेखरा | भदौ १५, २०७९

तीनवर्षदेखि व्यापार मेला भएन तस्बिर साभार

 

कास्की । उपल्लो मुस्ताङ र चीनको तिब्बतको सीमा नाकामा लाग्ने व्यापार मेला तीनवर्षदेखि सञ्चालन हुन सकेको छैन ।  प्रदेशसभा सदस्य महेन्द्र थकालीका अनुसार असार र भदौमा हुने सो मेला गत तीन वर्षदेखि सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा परेकोे जानकारी दिनुभयो । “पहिले यहाँ व्यापार मेला हुँदा स्थानीयलाई निकै सहज भएको थियो”, उहाँले भन्नुभयो, “अहिले सबै सामान भारततिरबाटै ल्याउनुपरेको छ ।”  मेला नहुँदा समस्या भएकाले मुस्ताङका जनप्रतिनिधिले सम्बन्धित स्थानमा आवाज पनि उठाइरहनुभएको छ तर पनि सुनुवाइ भएको छैन ।

 

सांसद प्रेमप्रसाद तुलाचनले गत जेठ २६ गते संघीय  संसद् बैठकमा सो विषयलाई उठान गर्नुभएको थियो । उहाँले सीमा क्षेत्रका बासिन्दा मुख्य आम्दानीको स्रोत व्यापार भएको र कोरलानाकामा व्यापार मेला सञ्चालन हुन नसक्दा उपल्लो मुस्ताङवासी मर्कामा परेको विषयलाई सदनमा जानकारी गराउनुभएको थियो । 

 

उपल्लो मुस्ताङमा बर्सेनि एक बालीमात्र खेती हुने र उत्पादन गरिएको अन्नबालीले छ महिना थेग्न मुस्किल पर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो“कोभिडले रोकिएको अन्तरदेशीय व्यापार मेला यथाशीघ्र सञ्चालन गर्ने वातावरण मिलाउन संघीय सरकारले ध्यान दिनुपर्छ ।” 

 

कोरोना त्रासका कारण रोकिएको व्यापार मेला सङ्क्रमणको जोखिम शून्य अवस्थामा रहेकाले व्यापार मेलालाई निरन्तरता दिन स्थानीयवासी टसी गुरुङले प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ । उहाँका अनुसार व्यापार मेलामा जानका लागि उपल्लो मुस्ताङीको नागरिकता देखाएर चीन प्रवेश गर्न पाउँथे । व्यापार मेलामा नेपालबाट पश्मिना, यार्सागुम्बा, आलु, फापरलगायतका सामग्री निर्यात हुन्थ्यो भने चीनबाट निर्माण सामग्री, खाद्यान्न, लत्ताकपडा, किराना सामग्री र भेडाच्याङ्ग्रा आयात हुने जनाइएको छ ।  कोभिडका कारण तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल नआउँदा भेडाच्याङ्ग्राको मूल्य आकाशिएको उहाँले बताउनुभयो । 

 

लोमान्थाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष सुवर्ण विष्टले सरकारले दूरदराजका जनताको पीडा बुझ्न नसकेको गुनासो गर्नुभयो । राज्यले लोमान्थाङलाई हेर्ने नजर फरक रहेको उहाँको धारणा थियो । भौगालिकरूपमा विकट भए पनि कोरलानाकासँगै लोमान्थाङको सांस्कृतिक सम्पदाले भरिपूर्ण लोमान्थाङको गुम्बा, गुफा तथा मन्दिरसँगै पुराना घर संरक्षणका लागि राज्यको आँखा जानुपर्ने उहाँको धारणा थियो । 

 

उपल्लो मुस्ताङीको समस्या बुझ्न र विकास निर्माणका बारेमा जानकारी लिन गण्डकी प्रदेश सरकार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लोमान्थाङ समेत पुग्नुभएको थियो । तत्कालीन  समयमा उहाँ  कोरलानाकासम्मै पुग्नुभएको हो । नाका पुगेर उहाँले गण्डकी प्रदेशको समृद्धिको मूल आधार कोरलानाका भएको थियो ।  

 

व्यापार मेला नखुलेर स्थानीयवासीलाई परेको समस्याको सम्बोधन गर्दै उहाँले मेलामात्र होइन, नाका नै खोल्नुपर्नेमा जोड दिनुभयो । “यो नाका गण्डकी प्रदेशकै लाइफलाइन हो र प्रदेशको समृद्धिको मूल आधार पनि हो”, उहाँले भन्नुभयो, “सबैभन्दा पहिले कोरलाबाट त्रिवेणीसम्मको सडक खुलाएर नाका सञ्चालन गर्न सकियो भने मित्रराष्ट्र चीन र भारतसँगको व्यापार बढ्छ ।” तत्काल नाका खोल्नका लागि संघीय सरकारलाई अनुरोध गरिसकिएको उहाँले जानकारी दिनुभयो । “संघीय सरकारबाट पनि भन्सारको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्न बजेट विनियोजन गरिसकेको छ भन्ने सुनेको छु”, उहाँले भन्नुभयो, “भोलिका दिनमा नाका सञ्चालन गर्न प्राथमिकताका आधारमा साधान स्रोतले भ्याएसम्म अगाडि बढाउन चाहन्छौँ ।” 

 

भन्सार सञ्चालनका लागि चीनले बनाएको संचरनाले पनि नेपाल सरकार र प्रदेश सरकालाई झक्झकाएको बताउनुभयो । “हामीले पनि चीनले जस्तै हाम्रा भन्सार जाँचचौकी बनाउन सक्यौँ र दुवै देशका नागरिकको व्यापारिक सम्बन्ध आदानप्रदान गर्न सकियो भने हाम्रा लागि ठूलो सफलता हन्छ”, उहाँले भन्नुभयो । 

 

चीन सरकारले चीनको ढोङ्वासेनको बजारबाट कोरलानाकासम्मको सडक कालोपत्र गरेको छ भने आफ्नोतर्फ भन्सार, अध्यागमन र सुरक्षा निकायका लागि दुईवटा भवन बनाइसकेको छ । 

काठमाडौं:  युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्या...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको ...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसि...

थप पढ्नुहोस्